सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन ।
विहीबार मात्रै राती १२ बजेटबाट लागुहुने गरी प्रदेश प्रमुख मियाले संसदको बजेट अधिवशन अन्त्य गरेका थिए तर संसद अधिवेशन अन्त्य भएकै भोलीपल्ट अथवा शुक्रबार संसदको एक चौथाई प्रदेश सभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन ।
संविधानमा संसदको अधिवेशन अन्त्य भएको अवस्थामा कम्तीमा पनि एक चौथाई सांसदहरुले हस्ताक्षर गरि विषेश अधिवेशन माग गर्नसक्ने प्रावधान छ ।
मुख्यमन्त्री सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश प्रमुख मियालाई पत्र पठाएका थिए । तर मिया बाहिर भएकाले विहीबार मात्रै उक्त पत्र माथि कारवाही भएको हो ।

सोडारीलाई पटक पटक राजीनामा दिएर नयाँ सरकारको बाटो सहज पार्न र बजेट शून्यताको अवस्थाबाट प्रदेशलाई जोगाउन नयाँ गठबन्धनका दलहरुले आग्रह गरिरहेका छन तर सोडारी पनि अल्पमतमा परेको ३० दिन सम्मको समयसीमा भीत्र सहजै सत्ता नछोडने मुडमा देखिएका छन ।
प्रदेश प्रमुखले विषेश अधिवेशन बोलाई सकेपछि सोडारी नेतृत्वको सरकारलाई अध्यादेश मार्फत बजेट ल्याउने नैतिक संकट पर्ने देखिन्छ ।
सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट असारमा पास हुन नसकेपछि अहिले प्रदेशभरी कर संकलनको कार्य बन्द भएको छ ।
यातायात, मालपोत र नापी, स्थानीय तहका लागि तोकिएका अधिकांस करहरु बन्द भएका छन । अहिले प्रदेशमा बजेट सुन्यताको अवस्था रहेको छ ।
