
धनगढी । आज देखि कैलाली भन्सार कार्यालयको सेवाप्रवाह सुचारु भएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयको कामकाज केही दिन देखि बन्द रहेको थियो ।
क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सुचारु गर्न समय लाग्ने भएकाले सवारी पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवाप्रवाह सुचारु गरिएको हो ।
भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधानस्रोतबाट सेवा सुचारु गरिएको भन्सार कार्यालयले जनाएको छ । सो भवनबाट बैँकको काउन्टर, आयात–निर्यातको स्वीकृति लगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेम प्रसाद अर्यालले बताए ।
भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारी साधन, महत्वपूर्ण फाइलहरू, तथ्याङ्क लगायतका सामग्री नष्ट भएको उनले जानकारी दिए ।
उने भने, ‘हामीसँग उपलब्ध भएको साधानस्रोतको प्रयोग मार्फत कार्यालय सञ्चालन गरी सो भवनबाट सेवा प्रारम्भ गरेका छौं ।’
कैलाली भन्सार कार्यालयले आयात–निर्यातको काम आइतवारदेखि पुनः सुचारु गरेको छ । नेपाल आयल निगम, धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कर भने बिहिवार नै धनगढी आयात गरेको थियो ।
आजदेखि अन्य अति आवश्यक बस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रुपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
