धनगढी– शनिबार कैलालीको धनगढी उपमहानगरपालिले आचार्य कृष्ण बहादुर दमाईलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो ‘आचार्य उत्तीर्ण गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का कृष्णबहादुर दमाईलाई रोजगारी दिन उपमहानगर तयार भएको बताएका छन् ।
उनले भने ‘उहाँ (आचार्य दमाई)लाई रोजगारी नहुँदा धेरै समस्या भएको भन्ने कुरा सुन्नमा आएको छ । उहाँले चाहे हामी रोजगारी दिन तयार छौँ । उहाँले चाहानु प¥यो उहाँको योग्यता अनुसारको रोजगारी दिन उपमहानगर तयार छ । आज सम्मान मात्रै गरेका छौँ ।’
आचार्य दमाईले समाज रुपान्तरणको सवालमा महत्वपूर्ण योगदान गरेको नगरप्रमुख हमालले बताए । उनले समाजमा पछि नपर्नका लागि योग्यता आवश्यक पर्ने बताए । उनले भने ‘जबसम्म योग्यता हुँदैन् तबसम्म केही पनि हुँदैन् । सम्पत्ति,शक्ति वा विद्याको हैसियत बनाए जुनसुकै जातको मान्छे भए पनि अपहेलित हुनु पर्दैन् ।’

उपमहानगरले आचार्य दमाईलाई स्वागत गर्दै नगद रु. एक लाख ५१ हजारसहित सम्मान पत्र प्रदान गरेको छ ।
जातीय छुवाछूत जस्तो कुरिति विद्यमान रहेको परिवेशमा दलित समुदायबाट संस्कृत साहित्यमा पहिलो ‘आचार्य’ उत्रीर्ण गरि सुदूरपश्चिमको गरिमा बढाउने काम गरेको भन्दै आचार्य दमाईलाई सम्मान गरिको छ ।
‘सनातन धर्मको रक्षार्थ अहम भूमिका खेल्नुभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट छवि बनाउनुभएको हुँदा उच्च मुल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको छ ।’ सम्मान पत्रमा भनिएको छ ।
कार्यक्रममा बोल्दै आचार्य दमाईले सनातन धर्म संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए । उनले भने ‘जब धर्मको रक्षा हुन्छ तब देशको रक्षा हुन्छ । देश रक्षा भए जनता रक्षा हुन्छ ।’
त्यस्तै उनले विद्या नै सबैभन्दा ठूलो भएको बताए । दाङको संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका आचार्य दमाई गत साउनमा काठमाण्डौँको पशुपतिमा लागेको कोटिहोम महायज्ञमा प्रवचन दिएपछि चर्चामा रहेका छन्
