काठमाण्डौ – नेपाली चलचित्र ुमोदीबेनीुको चलचित्रकर्मीले प्रशंसा गरेका छन् । आज शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको अस्ति बुधवार भएको पहिलो प्रदर्शनीमा सहभागी चलचित्रकर्मीले प्रशंसा गरेका हुन् । पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र ुमोदीबेनीुमा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको अभिनेता रमेश उप्रेतीले बताउनुभयो ।

अभिनेता निर्मल शर्माले नेपालको ग्रामीण भेगलाई यसैगरी चलचित्रमा प्रस्तुत गरिनुपर्ने बताउनुभयो । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई कथावस्तुसँग सहजै जोड्ने बताउनुभयो । अभिनेत्री रेजिना उप्रेतीले आफूलाई पर्दामा हेर्दा भावुक भएको बताउनुभयो ।
निर्देशक शङ्कर कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सेरोफेरोमा भएका घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै त्यस क्षेत्रको जनजीवन र समाजलाई यसले दर्शाउने बताउनुभयो ।
चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भर्नुभएको छ ।
