रसुवा – उत्तरी रसुवाको टिमुरेमा रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को तातोपानीमा रहेको भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट विद्युत गृह निर्माण गरिएको छ ।

विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा उपकरणबाट विद्युत् उत्पादन हुने छ । अहिले चिसोयाम परेका कारण खोलामा पानीको बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । तीनवटै युनिट चालु गराइ सकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो ।
यो आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाख रुपैयाँ रहेको छ । रसुवागढी जलविद्युतले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जल विद्युत् कम्पनीमार्फत यो आयोजना निर्माण भएको हो ।
चिलिमे जल विद्युत् केन्द्रलाई धितो राखेर कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकायसमेतको शेयर लगानीमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
