लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
उनी सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका थिए ।उनलाई आइतबार न्यायाधीश नबराज दाहालको इजलासमा पेश गरिने छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि दाहालको इजलासमा पेश गराइएको हो।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ। उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए। उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए।

tiropati

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो। शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको छ।

गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछाने सहितको टोलीले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ।

संसदीय छानविन समितिले कारबाही सिफारिस गरेपछि लामिछाने विरुद्ध ८ महिना अघि परेको जाहेरी प्रहरीले अघि बढाएको हो। पोखराको सुर्यदर्शन सहकारीबाट मात्र १७ हजार ८ सय बचतकर्ताले राखेको १ अर्ब ३५ करोड रुपैया अपचलन भएको पोखरा महानगरपालिकाको छानविनले देखाएको छ

उक्त अपचलनको मुख्य योजनाकार मानिएको टेलिभिजनका अध्यक्ष एवं सहकारी संचालक जिबी राई फरार छन्। टेलिभिजनका पूर्व संचालक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् भने सोही टेलिभिजनका प्रबन्धक एवं सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल अहिले पूर्पक्षका लागि कारागारमा छन्।

हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला आइतबार पनि रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने बताएको छ। अदालत जाने बाटोमै पर्ने शहिदचोकमा आइतबार दिउँसो आन्दोलन गर्ने उनीहरूले बताएका छन्।

लामिछानेविरुद्ध परेको सहकारी ठगी र संगठित अपराध मुद्धा प्रभावित बनाउन रास्वपा कार्यकर्ता आन्दोलनमा लागेपछि सहकारी पीडितहरु पनि सडक आन्दोलनमा उत्रिने बताएका छन्।उनीहरूले पीडकको पक्षमा नभई पीडितको पक्षमा साथ दिन पनि जनसमुदायलाई आग्रह गरेका छन्।

 

bhariv
Leave A Reply

Your email address will not be published.