समाजवादी मोर्चाको बैठक सम्पन्न–नयाँ योजना बनाउन कार्यदल गठन

काठमाण्डौ – नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा सक्रिय भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेसँगै मोर्चा सक्रिय भएको हो ।

हिजो काठमाण्डौको आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले दुई ठूला दल कांग्रेस र एमालेबीच मध्यरात हस्ताक्षर गर्दै सत्ता साझेदारी र संविधान संशोधनमा भएको समझदारीलाई अपारदर्शी भएको ठहर समेत गरेको छ ।

tiropati

प्रतिपक्ष दलहरूको मोर्चाले कांग्रेस–एमालेबीच ‘अप्राकृतिक’ गठबन्धन भएको पनि निष्कर्ष निकालेको छ । बैठकले विगतको समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन कार्यदल गठन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द संयोजकत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपाका नेता खड्क विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल सदस्य रहनुभएको छ । कार्यदललाई आगामी कार्यक्रम र योजना १५ दिनभित्र तय गर्न कार्यादेश दिइएको छ ।

हिजोको बैठकमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि समाजवादी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि थियो । तर यादव हिजोको बैठकमा सहभागी हुनुभएन । ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेला यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो । यादवले ‘प्रचण्ड’ माथि आफ्नो पार्टी विभाजन गराएको आरोप लगाउनुभएको थियो ।

bhariv
Leave A Reply

Your email address will not be published.